पोल्यान्डको प्रजेवोदो शहरमा मंगलवार भएको विस्फोटमा दुईजनाको मृत्यु भएपछि पोलिश सरकारले पश्चिमी सैन्य गठबन्धन नेटोको धारा ४ लागू गर्न माग गरेको छ ।
युक्रेनसँगको सीमावर्ती उक्त शहरमा भएको विस्फोट युक्रेनी भूभागमा रुसले गरेको क्षेप्यास्त्र प्रहारकै बीचमा भएको हो । पोलिश भूमिमा जानाजान आक्रमण गरिएको हो कि भनी अनुमान गरिएको छ ।
रुसको रक्षा मन्त्रालयले पोल्यान्डको भूमिमा रुसी सैनिकहरूले आक्रमण नगरेको स्पष्ट पारेको छ । त्यस्तै जी२० शिखर सम्मेलनमा सहभागी अमेरिकाका राष्ट्रपति जो बाइडनले पनि पोल्यान्डमा रुसबाट आक्रमण भएको जस्तो नदेखिएको बताएका छन् ।
पोल्यान्डका एक पत्रकारले उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै रुसी क्षेप्यास्त्रलाई युक्रेनको वायु प्रतिरक्षा प्रणालीले बीचैमा रोकेकाले त्यसको टुक्रा पोलिश भूमिमा खसेको भनी लेखेका छन् ।
पोल्यान्ड नेटोको सदस्य मुलुक हो । उक्त देशमा गरिएको आक्रमणलाई नेटोका सबै ३० सदस्यमाथिको आक्रमण मानिने कुरा धारा ५ ले सुनिश्चित गर्छ ।
अधिकारीहरूले विस्फोटको स्रोत तथा कारणका विषयमा अझै अनुसन्धान गरिरहेको भए पनि सामाजिक सञ्जालमा धारा ५ को विषयमा चर्चा चल्न थालेको थियो । यस घटनाले रुस–युक्रेन द्वन्द्वमा नयाँ मोड ल्याएको समेत भनिएको थियो ।
तर नेटो सन्धिको धारा ४ ले सदस्यहरूलाई सुरक्षा लगायतका विषयमा छलफल गर्न अनुमति दिन्छ । सदस्यहरूले बैठक बसेर आगामी कदमका विषयमा छलफल गर्नेछन् ।
नेटोका महासचिव जेन्स स्टोल्टनबर्गका प्रवक्ता ओआना लुंगेस्कुले नेटोका राजदूतहरूको बैठक बुधवार बिहान आयोजना गर्ने बताएका छन् । त्यसमा विस्फोटको घटनाको चर्चा गरिनेछ ।