
गुल्मी क्षेत्र नम्बर–१ बाट हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा भूवनेश्वर अर्यालले उम्मेदवार बनेका छन् ।
गुल्मी–१ मा हेवी–वेट उम्मेदवारहरू एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेसका नेता डा. चन्द्र भण्डारीबीच चुनावी प्रतिस्पर्धा छ ।
तर, लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका अर्याल भने आफुले चुनाव जित्ने निशिचत रहेको दावी गर्छन ।
जनताले ठूला दलका स्थापित नेताको विकल्प खोजेकाले आफूले चुनाव जित्ने उनी बताउँछन् ।
ज्ञवाली र भण्डारीबाट जनताले धोका पाएकाले आफूलाई विजयी गराउने उनले दावी गरे ।
‘भ्रष्टचार, बेतिथि, सत्ता स्वार्थमा लाग्ने ठूला दलप्रति जनताको व्यापक आक्रोस छ’ उनले भने, ‘दलहरूमा धमिरा लागेको छ । उनीहरू अब बुढा बाघ भइसके । जनताले विकल्प खोजिरहेका छन् ।’
देशको मुख्य समस्या भ्रष्टाचार र दण्डहिनता रहेको र त्यसलाई हाम्रो नेपाली दलले निकारण गर्ने उनले बताए ।
सत्तारूढ कांग्रेस–माओवादीसहित एमाले, राप्रपा र जसपा गठबन्धनले देशलाई धोका दिइरहेको अर्याल बताउँछन् ।
‘सांसद भनेको नीति निर्माता हो । भौतिक विकासको ठेकेदार वा बजेटको भान्से होइन । विकास जनताको अधिकार हो, अमुक नेताले दिने दान होइन । विकास बजेट हामीले तिरेको कर र हाम्रो थाप्लो माथि लागेको ऋण हो’, उनले भने । उम्मेदवार अर्याल अर्याल गुल्मीको रुरु–गाउँपालिका वडा नम्बर–२ निवासी हुन् ।