काठमाडौँ, २६ साउन- पेट्रोलपम्प सञ्चालकले निजी स्वार्थ पूरा गर्न आजदेखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई दुःख दिने गरी हडताल सुरु गरेका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अगुवाइमा बिहीबारदेखि देशभरका २ हजार १ सयभन्दा बढी पम्पले निगमको डिपोबाट पेट्रोल नउठाउने बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले तिरेको पैसाबराबर तेल पाउनका लागि बाध्य भएर हडताल गर्नुपरेको बताए ।
‘२६ साउनबाट देशभर रहेका निगमको डिपोबाट पेट्रोल खरिद गरिनेछैन,’ उनले भने, ‘त्यसपछि शीघ्र समस्या समाधान नभए देशभरका पेट्रोलपम्पबाट २९ साउनदेखि पेट्रोल र डिजेल खरिद गर्दैनौँ । ३१ साउनबाट बिक्री–वितरणसमेत ठप्प पार्नेछौँ ।’ माग पूरा गराउन सुरुमा पेट्रोल मात्रै डिपोबाट खरिद र वितरण गर्ने उनले बताए, नयाँ पत्रिकामा खबर छ ।
यी छन् माग
– पम्प परिसरबाट बिक्री हुने इन्धनको परिमाण निगमले दिएकोजति नै हुनुपर्ने वा कम हुन जाने परिमाण निगमले व्यहोनुपर्ने
– इन्धनको परिमाण गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरिदिनुपर्ने
– बजार अनुगमनका क्रममा सिल दुरुस्त हुँदाहँुदै नोजलबाट घटीबढी तेल आए कारबाही नगरी छाड्ने र तुरुन्त क्याब्रिलेसनको व्यवस्था मिलाउनुपर्ने
– सबै पम्पले निगमको डिपोमा लोड भएका ट्यांकरबाट तेल पाउनुपर्ने
– पम्पसञ्चालकले धरौटीबापत राख्ने रकमबाट वाणिज्य बैंकले दिनेसरहको ब्याज पाउनुपर्ने