
विदेशी मुद्रा सञ्चिति १३ करोड डलरले बढेको छ ।
गत भदौको तुलनामा असोज महिनामा यस्तो डलर सञ्चिति ९ अर्ब ३५ करोड बढेर ९ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ३ महिनासम्मको तथ्यांकअनुसार गत भदौको तुलनामा डलर सञ्चिति बढेको भए पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा भने ०.६ प्रतिशतले घटेको छ ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । २०७९ असोज मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ४८ करोड डलर पुगेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको यस्तो डलर सञ्चिति यो वर्षको असोजसम्ममा २.५ प्रतिशतले वृद्धि भएर १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको पनि तथ्यांकले देखाएको छ ।
नेपालमा रहेको डलर सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थामा यस्तो सञ्चिति १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
नेपालमा रहेको विदेशी सञ्चितिले चालू आवको पछिल्लो ३ महिनाको आयातलाई आधार बनाउँदा ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस्तो आयात धान्ने क्षमता भदौमा ७.७ महिनालाई धान्न सक्ने मात्रै थियो ।
शोधनान्तर स्थिति यो अवधिमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ ।