०९ साउन २०८३, शनिबार

अञ्जनको गोलमा नेपाल विजयी, सुखद् भएन पाकिस्तानको कमब्याक

कात्तिक ३०, २०७९
अञ्जनको गोलमा नेपाल विजयी, सुखद् भएन पाकिस्तानको कमब्याक

स्ट्राइकर अञ्जन बिष्टको निर्णायक गोलको सहयोगमा बुधवार नेपाली राष्ट्रिय फुटबल टोलीले पाहुना टोली पाकिस्तानबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित निकालेको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले ३ वर्षको फिफा प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानलाई १–० ले स्तब्ध बनाएको हो । ८३ औं मिनेटमा अञ्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे । 
क्रस बललाई अञ्जनले आकर्षक शैलीमा जाली चुमाउन सफल भएका हुन् । यससँगै अञ्जनले राष्ट्रिय टोलीका लागि ११ औं गोल पनि पूरा गरेका छन् । अन्जन सर्वाधिक गोलकर्ता रहेका हरि खड्का र निराजन रायमाझी भन्दा दुई गोलले पछि छन् । यसअघि असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३–१ को जित निकालेको थियो ।

बुधवार भ्रमणकारी टोली पाकिस्तानले शुरुवातबाट नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । तर केही समयपछि पाकिस्तानको सो लयले निरन्तरता पाउन सकेन । खेलको शुरुवातमै विमल घर्ती मगरले सुवर्ण अवसर पाए पनि उनले प्रहार गर्न ढिला गर्दा नेपालको अवसर खेर गएको थियो । ११ औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिएका थिए ।

त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापंत्ति तोड्न सकेन । दुवै टोलीले त्यसपछि प्रयास गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा फरक रणनीतिकासाथ मैदान उत्रिएको पाकिस्तानले केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । यस्तै नेपालका केही सुनौला अवसर अग्रपंक्तिले सदुपयोग गर्न चुकेको थियो ।
घरेलु टोली नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ । नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५० औं अन्तर्राष्ट्रिय खेल हो । 
 

salt training

कमेन्ट गर्नुहोस्