पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताएका छन् ।
इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भने, “देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ ।”
नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताए । उनले भने, “देशले स्थिरता खोजेको छ । जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन् । मुलुकको चौतर्फी विकासका लागि गठबन्धनले देशभर विजय हासिल गर्दैछ ।”
उनका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ । यो निर्वाचन आफ्नो अन्तिम चुनावी लडाईं भएको बताउँदै खनालले देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्नसमेत तयार रहेको बताए ।