
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले राष्ट्र, राष्ट्रियता र विकासका लागि ज्यान दिन तयार रहेको बताएकी छन् ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शंखरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको मतले निर्वाचनबाट ऐतिहासिक जित हासिल गर्ने दाबी गरिन् । उनले आफू समानुपातिकमा नबसी प्रत्यक्षमा उठेर राम्रा काम गरेँ भन्ने लागेको उल्लेख गर्दै मतदातासँग सुखदुःख साटासाट गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।
उनले भनिन्, ‘शंखरापुर नगरपालिका पार्टीले जितेको ठाउँमा उभिएर बोलिरहँदा यसबेला तपाईंहरुको साथको जरुरत छ । यहाँ कुन्ती पोख्रेल, राजु विष्ट र सुनिल केसी मात्रै उठिरहेका होइनन् तपाईंहरु आफै उठिरहनुभएको छ,’ उनले भनिन्, ‘मैले सांसद हुनुभन्दा पहिला सामाजिक अभियानमार्फत देशका विभिन्न दुर्गम ठाउँमा पुगेर महिला तथा बालबालिकाको स्वास्थ्य समस्या समाधानका लागि सहयोग गरेँ । महिला दिदीबहिनीहरलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने काम गरेँ । जनतामा के कस्ता समस्या छन् भन्ने कुरामा धेरै अनुभव बटुलेर आएकी छु । म आफै उद्यमी भएकाले युवाका समस्याहरू के के छन् भन्ने मलाई राम्रोसँग थाहा छ ।’
उनले यो क्षेत्रले कुन्ती पोख्रेललाई पर्खिइरहेको भन्दै थाती रहेको काम पुरा गरेरै छाड्ने बताइन् । उनले अगाडि भनिन्, ‘म राष्ट्र, राष्ट्रियता र यस क्षेत्रको विकासका लागि ज्यान दिन तयार छु । जित हार आफ्नो ठाउँमा छ, म यहाँ गल्लीगल्ली, टोलटोल, घरघर घुमेकी छु, यहाँको माटोसँग भिजेकी छु । कुन ठाउँमा कस्तो विकास गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ ।’
कार्यक्रमका राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले यस क्षेत्रका उम्मेदवार कुन्ती पोख्रेलले, राजु विष्ट र सुनिल केसी सक्षम उम्मेदवार भएको भन्दै जिताउन आग्रह गरे ।