२५ असार २०८३, बिहीबार

मोरङका ८३९ मध्ये ५० अति संवेदनशील मतदान केन्द्र, कडा सुरक्षा व्यवस्था

मोरङका ८३९ मध्ये ५० अति संवेदनशील मतदान केन्द्र, कडा सुरक्षा व्यवस्था

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र रहेकामा ५० अति संवेदनशील र ११४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार ७१२ कर्मचारी परिचालन गरेको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी रहने उक्त कार्यालयका प्रवक्ता हेम बुढाथोकीले जानकारी दिए । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ ।

मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ । एक जिल्ला कारागारमा कैदीबन्दीका लागि र अर्को आदर्श पुस्तकालयमा मतदानमा नखटिने कर्मचारीका लागि कर्मचारी र कैदीबन्दीले समानुपातिकमा मात्र मत खसाल्न पाउने भएका छन् । 
मतदान केन्द्रमा खटिने मतदान अधिकृतले निर्वाचनलाई सहज एवं सरल बनाउन प्रत्येक मतदान केन्द्रमा सर्वदलीय बैठक गरिरहेको सूचना प्राप्त भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर मत खसाल्ने वातावरण सिर्जना गर्न मतदान अधिकृतलाई प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलबाट निर्देशन पनि भइसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

अहिलेसम्म सबै मतदान केन्द्र वा मतदानस्थलमा शान्तिपूर्ण वातावरण रहेको र प्रत्येक मतदान केन्द्रमा खानेपानी, शौचालय, बिजुली, इन्टरनेटको व्यवस्था गर्नका साथै  मतदान अधिकृत बुथ निर्माणमा जुटेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्