
मंसिर ४ गते देशैभर हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार सकिएर मौन अवधि चलिरहेको छ ।
निर्वाचन अधिकृतका कार्यालयहरूले मतदानस्थलको व्यवस्थापन र तयारीका काम गरिरहेका छन् । मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी कूल ४ मतपत्रमा मतदान गर्न पाउनेछन् ।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार प्रदेशभर खसेको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत पाउने दलको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व हुने प्रावधान छ ।
निर्देशिकाको दफा ३४(५) मा लेखिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा दलहरूले प्राप्त गरेको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।’
दलहरूले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीको आधारमा समावेशी समूहका उम्मेदवारको नाम छनोट गर्दा माथिल्लो क्रममा रहेका उम्मेदवारको नाम छनोट गर्नुपर्ने व्यवस्था छ । दफा ३६(३) मा लेखिएको छ, ‘कुनै समावेशी समूहको उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट गर्न पाइने छैन ।’
उम्मेदवार छनोट गरी पठाउँदा अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।