
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चयन भएका छन् ।
माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रावर सम्पन्न ईफाप्काको ४५ औं सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो । ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ भएका छन् ।
वर्णानुक्रम अनुसार (ईफाप्का) का सदस्य राष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलन अनुसार माल्दिभ्स्पछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए । मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरे।
अध्यक्ष सिंह सहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । सपथपछिको कार्यक्रमलार्ई सम्बोधन गर्दै सिंहले ईफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता बताए ।