०८ साउन २०८३, शुक्रबार

नमूना माझी बस्तीका घर प्रयोगविहीन

नमूना माझी बस्तीका घर प्रयोगविहीन

विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् ।
 
भूकम्पलगत्तै रोटरी इन्टरनेसनल समेतको सहयोगमा थाई नेपाली संघले १ करोड ७ लाख खर्चेर नमूना बस्ती बनाएको थियो ।

फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले बस्तीको पछाडि ६ कोठे आरसीसी घर ठड्याएका छन् । १३ सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए ।

तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताइन् । उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

३ वटा सामूहिक धारा र एक सामुदायिक भवन सहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुंगाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए ।

उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई २ देखि १० लाखसम्म ऋण लागेको उनले बताए ।
 
दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्