२१ जेठ २०८३, बिहीबार

म्याग्दीमा ५८ प्रतिशत मत खस्यो

म्याग्दीमा ५८ प्रतिशत मत खस्यो
फाइल तस्वीर

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । 

छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । 

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले सोमबार दिउँसोसम्म सबै ठाउँबाट मतपेटिका बेनी आइपुग्ने र त्यसपछि मतगणना शुरु गरिने बताए । धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर मगाइएको छ । अन्य ठाउँबाट स्थलमार्ग भएर गाडीमार्फत बेनीमा मतपेटिका ढुवानी भइरहेको छ । 

एक सय १९ मतदान केन्द्रमा ४२ हजार ५५ जना पुरुष र ४४ हजार ६४ जना महिला मतदाता रहेकोमा २४ हजार तीन सय ३१ महिला र २६ हजार दुई सय ९३ जना महिलाले मतदानमा भाग लिएका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए । 

सबैभन्दा कम रघुगङ्गा गाउँपालिका–८ को कुइने माध्यमिक विद्यालयमा ३१.८३ प्रतिशत मत खसेको छ । तीन सय ३३ जना मतदाता रहेकोमा एक सय छ मत खसेको छ । सबैभन्दा बढी रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता मावि मतदान केन्द्रमा ८४.६५ प्रतिशत मत खसेको छ । यहाँ सात सय ६२ जना मतदाता रहेकोमा छ सय ४५ मत खसेको छ । 

अन्नपूर्ण गाउँपालिका–५ को शिख मावि मतदानस्थल बाहेकका मतदानस्थल निर्धारित समय साँझ ५ बजे मतदान सकिएको थियो । दिउँसो १२ देखि ४ः३० सम्म मतदान स्थगित भएको शिख माविमा साँझ ७ बजेसम्म मतदान भएको थियो । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा आठ प्रतिशत कम मत खसेको हो । वैशाख ३० मा भएको स्थानीय तह चुनावमा ६६.२३ प्रतिशत मत खसेको थियो । कूल ८५ हजार तीन सय ७५ जना मतदाता रहेकोमा ५६ हजार पाँच सय ४३ मत खसेको थियो । खेतीबालीको काम र बजार क्षेत्रमा रहेका मतदाता मतदानस्थल नगएकाले कम मत खसेको बताइएको छ ।  

अन्नपूर्ण गाउँपालिका–५ को प्रभा मावि मतदान केन्द्रमा तेस्रो लिङ्गी दिलु बुद्धुजा र मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा एक सय सात वर्षीय जसमनी कामीले मतदान गरेका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्