
आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सोमवार बिहानदेखि शुरू भएको छ ।
सोमवार बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नम्बर २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना शुरू गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।
झापा–२ मा हाल एक ठाउँबाट मतगणना शुरू भएको छ भने बिहान ९ बजेपछि ५/६ स्थानबाट गणना शुरू गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताए । करीब ४ हजार ५०० मत गणना गर्न शुरू गरिएको र मतगणनाको प्रारम्भिक परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए ।
क्षेत्र नम्बर २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार ७२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्लाको कूल मतदाता संख्या ६ लाख ६३ हजार ३११ रहेकोमा ४ लाख ४६ हजार २५५ मत खसेको कार्यालयले जनाएको छ ।