
चितवन क्षेत्र नं १ को मतगणना शुरू भएको छ । ३ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना शुरू गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान ११ बजे मतगणना शुरू गर्ने भनिए पनि केही ढिला गणना शुरू भएको हो । यस क्षेत्रमा ६८.७३ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा एक लाख ३९ हजार ८४५ मतदाता छन् । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । त्यहाँ एक लाख २४ हजार २१४ मतदाता छन् ।
क्षेत्र नं ३ मा २:१५ बजेदेखि मतगणना शुरू हुने भएको छ । उक्त क्षेत्रमा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए । उक्त क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् ।
जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता छन् । १६१ मतदानस्थलका ४६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।