काठमाडौं, २७ साउन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा माओवादीमै फर्किएका छन् ।
बिहीवार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफल पछि शुक्रबार विहान झा र शर्मालाई माओवादी केन्द्रमा स्वागत गरिएको हो ।
प्रचण्डको निजी निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री तथा माओवादी हेडक्वार्टर सदस्य जनार्दन शर्मा, नेता मातृका यादव, नेतृ उर्मिला अर्याललगायतले झा र शर्मालाई स्वागत गरे ।
नयाँ शक्ति छाडेर माओवादीमा फर्किएका नेता झाले माओवादी केन्द्रलाई मधेसमा एक नम्बर शक्तिका रुपमा स्थापित गर्न क्रियासिल रहने प्रतिबद्धता जनाए ।
दुई नेताले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशिल रहने प्रतिवद्धता पनि जनाएका छन् ।
लामो समय एमालेमा राजनीति गरेका नेता झा २०६९ चैतमा तत्कालिन एकीकृत माओवादी प्रवेश गरेका थिए । त्यसपछि उनी माओवादी छाडेर नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराईसँगै गएका थिए ।
तर बाबुराम भट्टराईको कार्यशैली मन नपरेको भन्दै नयाँ शक्तिका सह–संयोजक समेत रहेका झाले पार्टी परित्याग गरी पुनः माओवादीमा फर्किएका छन् ।
यस्तै पहिलो संविधान सभा चुनावमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीबाट महोत्तरीमा चुनाव जितेका रामकुमार शर्मा पछि माओवादी प्रवेश गरेका थिए । उनी पनि बाबुरामसँगै नयाँ शक्तिमा लागेपनि पुनः माओवादीमै फर्किएका छन् ।