
२०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका डा. शेखर कोइराला यसपटकको आम निर्वाचनमा विजयी भए । त्यतिबेला कांग्रेसभित्र अन्तर्विरोध भएका कारण उनले पराजय भोग्नुपरेको थियो ।
अघिल्लो चुनावको हारपछिको समीक्षामा शेखरले हार्नुको कारण अन्तर्घात भएको निष्कर्ष निकालेका थिए ।
चुनाव हारेपछि अधिकांश समय आफ्नै क्षेत्रमा बिताएका शेखर अन्तर्घात गर्नेलाई चिढाउनेभन्दा पनि समेट्ने प्रयासमा लागे । एमालेका लालबाबु पण्डितले धेरै मत ल्याएको क्षेत्रलाई निशाना बनाए, सक्रियता बढाए ।
चुनाव जितेपछि पण्डितले मतदाता भेट्न खासै चासो नदिएपछि ‘हारेको नेता आइरहेको छु’ भन्दै शेखर मतदाताको घरदैलोमा पुगे । आफैं डाक्टर भएकाले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिदिन थाले ।
२०७९ सालको आम निर्वाचनमा अघिल्लो पटकको अन्तर्घातलाई रोक्दै एमालेभित्रको अन्तर्घातलाई सदुपयोग गरेर उनी भारी मतान्तरले विजयी भए । उनका लागि सत्ता गठबन्धन समेत जित्ने आधार बनेको थियो ।
कोइराला ३५ हजार २१३ मत ल्याएर विजयी भए भने पण्डितले २२ हजार ९२९ मत मात्रै पाए, मतान्तर १२ हजार २८६ छ ।
अल इण्डिया मेडिकल साइन्स इन्स्टिच्युट (एमस), भारतबाट एमडी गरेका उनले २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि पार्टीको सक्रिय राजनीतिमा लागेका थिए । कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य भए ।
१४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका उनी संस्थापनइतर समूहका नेता मानिन्छन् ।
२०६५ सालमा भएको संविधानसभाको उपनिर्वाचनमा उनी मोरङ–६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ–६ बाट पुनः निर्वाचित भएका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए ।
कोइरालालाई १२ बुँदे विस्तृत शान्ति सम्झौताका मूल सूत्रधार मानिन्छ । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सहयोगी भएर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेका थिए उनले । अन्तरिम संविधान निर्माणमा समेत उनले महत्त्वपूर्ण भूमिका खेलेको नेताहरू बताउँछन् ।
संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेशी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशिताको व्यवस्था राख्न कांग्रेसको ‘ह्वीप’ नमानी संविधान सभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । कोइरालाले संविधानसभा सदस्य पदक प्राप्त गरेका छन् ।