
काठमाडौं, २७ साउन – नेकपा एमालेको स्थायी समिति बैठकले सरकारको द्वेध चरित्रका कारणले अहिले सम्म पनि चिकित्सा शिक्षा विधेयक पास हुन नसकेको जनाएको छ ।
आज बसेको एमाले स्थायी समिति बैठकले एमाले सरकारले नै केदारभक्ता माथेमा आयोगले दिएको सुझावको आधारमा संसदमा विधेयक टेबुल गरेको जनाएको छ ।
एमाले सचिव योगेश भट्टराई द्वार जारी विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गर्दै आएको कुरा सबैको जानकारीका लागि सूचित गर्दछौं । सरकार स्वयम्को अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि उक्त विधेयक पारित
भएको छैन ।
यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वेध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ । आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा नेकपा (एमाले)लाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति रहेको छ ।’
साथै एमालेले भोजपुर, उदयपुर र झापाका लागि जिल्ला समन्व्य समितिको प्रमुख र उपप्रमुखका उम्मेदवार समेत टुंग्याएको छ । भोजपुरमा लक्ष्मण खड्कालाई प्रमुखको उम्मेदवार बनाइने भएको छ ।
उदयपुरको प्रमुखमा खड्ग परियार र उपप्रमुखमा गंगा राईलाई टिकट दिइएको छ । झापाको प्रमुखमा सोमनाथ पुर्तेल र उपप्रमुखमा मीना पराजुलीलाई टिकट दिइएको छ ।