१२ साउन २०८३, मंगलबार

यु–१९ क्रिकेट : बागमतीको लगातार दोस्रो जित

यु–१९ क्रिकेट : बागमतीको लगातार दोस्रो जित

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमतीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४९.१ ओभरमा सबै विकेट गुमाएर १९७ रन मात्र बनाउन सक्यो । 

प्रदेश १ का लागि कप्तान दीपेश कँडेलले ६६ बलमा ४७ रन बनाए । स्टेन रिजालले ३५ रनको योगदान गर्दा शुभन गहतराजले २६ तथा फैजल रहमानले २४ रन बनाए । विपिन महतोले २१ रन जोड्दा बागमतीले अतिरिक्तमा १५ रन खर्चिएको थियो । प्रदेश १ को इनिङलाई सस्तैमा समेट्ने क्रममा बागमतीका लागि सक्रिय कार्कीले ३ तथा ओमकार यादवले २ विकेट लिए । अभिषेक कोइराला, अर्थव पौड्याल र अहमद राजाले समान १÷१ विकेट निकाले ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले १०५ बलको सामना गर्दा १० चौका र ९ छक्काको सहयोगमा अविजित १४२ रनको शतकीय पारी खेलेका थिए । कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रन बनाउँदा रन आउट भए । 

अर्थव पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरेका थिए । बलिङतर्फ प्रदेश १ का लागि कप्तान दीपेश कँडेल र विपिन महतोले समान २÷२ तथा अभिनय राजवंशी, आशिष मगर र सोनु अन्सारीले समान १÷१ विकेट लिए । यस जितसँगै वागमतीले २ खेलबाट ४ अंक बनाएको छ । दोस्रो खेलमा पहिलो हार व्यहोरेको प्रदेश–१ को २ अंक छ ।

प्रतियोगिताअन्तर्गत शुक्रवार भएको अर्को खेलमा पनि सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १०० रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन बनाउन सक्यो । 

लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले २३ बलमा २२ रन तथा अर्का ओपनर तथा कप्तान देव खनालले १३ रन बनाए । मनोज मगरले ११ रन जोड्दा लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले एक्लैले ५ विकेट लिए । हेमन्त धामीको नाममा ३ तथा कैलाश ऐरको नाममा १ विकेट रह्यो । 

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८० को योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि दीपक बोहोराले ७३ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले । गजेन्द्र बोहोराले १९ तथा दीपक बोहोराले १७ रन बनाए । विशाल ऐरले १६ रन जोड्दा हेमन्त धामीले १५ रन जोडे । लुम्बिनीका लागि विशालविक्रम केसीले ३ तथा नर सार्की र निर्मल गुरुङले समान २÷२ विकेट लिए । रमेश कुर्मी र दुर्गेश गुप्ताले समान १÷१ विकेट लिएका थिए । यस जितसँगै सुदूरपश्चिमको पनि समान ४ अंक नै भएको छ । लुम्बिनीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा शनिवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा वागमती प्रदेश र मधेस प्रदेश तथा कीर्तिपुर मैदानमा कर्णाली र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्