
सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका डा अमरेश कुमार सिंहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिन फोन गरेका छन्।
सिंहलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल,नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,कांग्रेसका नेताहरू डा शेखर कोइराला,रामचन्द्र पौडेल,प्रकाशमान सिंह,डा मिनेन्द्र रिजाल,राधेश्याम अधिकारीलगायतका नेताहरूलेसमेत फोन गरेर बधाई दिएका छन्।
‘धेरै नेताहरूको फोन आएको आयै छ,म त दिनभर विजय जुलुसमा थिएँ,’ सिंहले लोकान्तरसँग भने,‘कतिपय नेताहरूसँग कुरा भयो,कतिपयसँग कुरा पनि हुन सकेन।’ सबै जसो नेताहरूले बधाई दिनुका साथै सहकार्य गर्न प्रस्ताव गरेको उनले खुलाए।
‘खास गरेर नेपाली कांग्रेसका नेताहरूले कांग्रेसमा फर्किन प्रस्ताव गर्नुभएको थियो,’ उनले थपे, ‘तर,मलाई जनताले गठबन्धनविरुद्ध म्याण्डेट दिएका कारण कांग्रेसमा फर्किन सकिन्न भनेर जवाफ दिएको छु।’ नेकपा एमालेका अध्यक्ष केपी ओलीले फोन गरे पनि 'कल मिस्ड'हुँदा उनीसँग कुरा हुन नसकेको सिंहले बताए। तर नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग भने फोनमा कुराकानी भएको उनले बताए । सो क्रममा काठमाडौं आएर थप कुरा गर्ने जवाफ दिएको सिंहले बताए।
प्रभु साह समूहसहित प्याकेजमा डील गर्ने रणनीति
स्वतन्त्रबाट रौतहट-३ मा जितेका प्रभु साह,रौतहट-२ मा जितेका किरण कुमार साहसहित स्वतन्त्र सांसदहरूको छुट्टै समूह बनाएर मधेशको विषयमा एकसाथ राजनीतिक दलका नेताहरूसँग ‘डिल’ गर्ने सिंहको तयारी छ।
‘प्रभुजी र म अहिले एउटै टीममा छौं। प्रभुजी पहिलेदेखि नै मेरो मिल्ने साथी पनि हो,’ सिंहले लोकान्तरसँग भने, ‘अन्य केही सांसद सहित ६/७ जनाको हाम्रो छुट्टै स्वतन्त्र सांसदको टीम छ। मधेश र देशको हितमा हामी मिलेर काठमाडौंको सदनमा हस्तक्षेप गर्छौं।’
राजनीतिक दलमा आबद्ध हुँदा दालको ह्वीप र अंकुश हुने हुँदा तत्काल उक्त समूह कुनै पनि पार्टीमा नजाने उनले दाबी गरे। ‘हामीलाई जनताले दलको गठबन्धनविरुद्ध जनमत दिएर जिताएका छन्,त्यसकारण हामी अहिले कुनै पनि दलमा जाँदैनौ,’ उनले थपे,‘देश र मधेशको आवश्यकता अनुसार हामीलाई मतदान गर्ने जनतासँग सल्लाह गरेर मात्र कुनै निर्णय लिन्छौं।’
सरकारमा नै जानुपर्ने अवस्था आए पनि त्यस विषयमा जनतासँग सोधेर निर्णय गरिने उनले बताए।
देउवाको नेतृत्व रहेसम्म कांग्रेसमा फर्किन्नँ
नेपाली कांग्रेसमा अबको चार वर्ष जति शेरबहादुर देउवाको नेतृत्व बाँकी रहेकाले उनको नेतृत्व रहुञ्जेल आफू कांग्रेसमा नफर्किने सिंहले बताए। ‘देउवाकै नेतृत्वमा प्रहरी,एसटीएफ आदि लगाएर मलाई पार्टीको महाधिवेशन प्रतिनिधि समेत बन्नबाट बन्चित गराइएको थियो।
देउवाकै नेतृत्वमा मलाई शक्तिकेन्द्रको बहाना बनाएर गठबन्धनबाट टिकट दिनबाट बन्चित गरिएको थियो,’ उनले थपे, ‘त्यसकारण देउवाको नेतृत्व रहुन्जेलसम्म म कांग्रेसमा फर्किन्न।’ एजेण्डा मिलेको अवस्थामा कांग्रेससँग सदनमा सहकार्य भने हुनसक्ने उनले खुलाए। सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका हुन् ।