१० साउन २०८३, आइतबार

प्रधानमन्त्री देउवासहित ६ मन्त्रीले चुनाव जिते, ५ मन्त्री पराजित

मंसिर १०, २०७९
प्रधानमन्त्री देउवासहित ६ मन्त्रीले चुनाव जिते, ५ मन्त्री पराजित
फाइल फोटो

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्री शेरबहादुर देउवासहित वर्तमान सरकारका ६ मन्त्री निर्वाचित भएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म ५ मन्त्री पराजित भएका छन् भने ३ मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट १२ हजार ४३२ मतान्तरसहित विजयी भएका छन् । उनले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछामको १ नम्बर निर्वाचन क्षेत्रबाट १९ हजार ५३४ मतसहित विजयी भए । उनले एमालेका झपट बोहोरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार ५१५ मतसहित दार्चुलाबाट विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरे । 

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट निर्वाचित भएका छन् । उनले ३९ हजार ५४९ मत प्राप्त गरे । शहरी विकास मन्त्री मेटमणि चौधरी दाङको १ नम्बर निर्वाचन क्षेत्रबाट ५ हजार ८३ मतान्तरसहित विजयी भएका छन् । उनले एमालेका शान्ता चौधरीलाई पराजित गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङको २ नम्बर निर्वाचन क्षेत्रबाट २४ हजार ७७९ मतसहित विजयी भएका छन् ।

गत आइतवार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुरको १ नम्बर निर्वाचन क्षेत्रमा १४ हजार २४१ मतसहित अग्रता कायम गरिराखेका छन् । हालसम्म गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि छन् ।

रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका गृहमन्त्री खाँणले २९ हजार २५५ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३० हजार ५७७ मत प्राप्त गरेका छन् ।

सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्की १०१ मतान्तरले पछाडि छन् । मन्त्री कार्कीले १९ हजार ७०९ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार ८१० मत प्राप्त गरेका छन् ।

यसपटकको निर्वाचनमा ५ मन्त्रीले पराजय व्यहोर्नुपरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्