
सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच सिटमा जित निकालेको छ ।
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दैलेख–१, सल्यान र डोल्पा तथा प्रदेशसभामा जुम्ला–२ र मुगु–१ सिट पाएको थियो । प्रतिनिधिसभामा पाएका तीनवटै सिट जोगाउँदा एकीकृत समाजवादीले प्रदेशसभातर्फका दुवै सिट गुमाउन पुगेको छ । प्रतिनिधिसभामा सफलता पाए पनि प्रदेशसभामा एक सिट पनि जित्न सकेन ।
सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र डोल्पामा केन्द्रीय सदस्य धनबहादुर बुढा निकै फराकिलो मतान्तरले निर्वाचित भए । दैलेख–१ मा प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले आफ्नै पूर्वसहकर्मी एमालेका रविन्द्रराज शर्मालाई ८४९ मतान्तरले पराजित गरे । ज्वालाको जिल्लामा त एमाले उम्मेदवार निकट प्रतिस्पर्धामा आउन सकेनन् ।
प्रदेशसभाका सिटमा तालमेल गर्दा एकीकृत समाजवादीले आफूलाई जित्न सहज भएका क्षेत्र रोजेको थियो । उसकै रोजाइअनुसार गठबन्धन दलको प्रदेशस्तरीय संयन्त्रले जुम्ला–२ र मुगु–१ एकीकृत समाजवादीको भागमा पार्न केन्द्रीय संयन्त्रलाई सिफारिस पनि गरेको थियो । तर, आफूले जित्न सहज ठानेका दुवै सिटमा समाजवादीका उम्मेदवार फराकिलो मतान्तरले पराजित हुनुपर्यो ।
एकीकृत समाजवादीले जुम्ला प्रदेशसभा क्षेत्र-२ मा प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदम रोकायालाई उम्मेदवार बनाएको थियो । त्यहाँ उनलाई ए हजार ९३ मतान्तरले पराजित गर्दै एमालेका युवा नेता टेकराज पछाई निर्वाचित भए । पछाईले सात हजार ८१५ मतले विजयी हुँदा रोकायाले ६ हजार ७२२ मत प्राप्त गरे । यस क्षेत्रमा २० हजार ६१६ मत खसेको थियो । २०७४ मा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकायाले एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका थिए ।
त्यस्तै, शनिबार बिहान सम्पन्न मुगु प्रदेशसभा क्षेत्र– १ को मतगणनामा एकीकृत समाजवादीका उम्मेदवार गोपालबहादुर बम पराजित भए । उनलाई एमालेका जीतबहादुर मल्लले एक हजार ७३ मतान्तरले पछि पारे । मल्ल एमालेका जिल्ला अध्यक्ष हुन् भने बम एकीकृत समाजवादीका केन्द्रीय सदस्य र निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
उनी २०७४ मा मुगुबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेका थिए ।
सत्ता गठबन्धनको सहमति विपरीत एकीकृत समाजवादीले सुर्खेत-२ को प्रदेशसभा–१ र २ मा पनि आफ्ना उम्मेदवार उठाएको थियो । प्रदेश–१ मा शिवप्रसाद उपाध्यायले एक हजार २७५ र प्रदेश–२ मा मोहनसिं बडूवालले ६ हजार २०९ मत ल्याएका थिए । प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ पाँच सिट जित्दा एकीकृत समाजवादी भने शून्य भएको छ । कर्णाली प्रदेशमा समानुपातिकतर्फको मतगणना जारी छ ।