
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा पराजित अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफू निर्वाचनमा पराजित हुँदैमा मतदाताहरू टाढा नहुने उल्लेख गरेकी छन् । अन्तिम मत परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आफू मतदाताको सुख दुःखमा साथै रहने प्रतिबद्धता जाहेर गरेकी हुन् ।

उनले निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका सुनिल शर्मालाई बधाई दिँदै आफूलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद पनि दिएकी छन् । उनले आफूसँग समानुपातिकमा रहेर प्रतिनिधि सभा सदस्य बन्ने सजिलो बाटो हुँदाहुँदै पनि प्रत्यक्षतर्फ निर्वाचन लड्नुको अर्थ रहेको पनि उल्लेख गरेकी छन् । उनले राजनीतिलाई ‘लामो समयको यात्रा’को रुपमा ब्याख्या गर्दै हार र जितको खास अर्थ नहुने पनि बताएकी छन् ।
यस्तो छ रेखाको सन्देश
मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाइ र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सुख दुःखमा उहाँ सँधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु ।
यो क्षेत्रबाट म पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार थिएँ । मलाई माया र विश्वास गरेर मतदान गर्नुहुने १० हजार ९८९ जना मतदातालाई हार्दिक नमन गर्न चाहन्छु । मलाई सँधै हौसला दिने अन्य हजारौँ नागरिकप्रति म सँधै कृतज्ञ रहिरहनेछु ।
निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर, निर्वाचित हुने एक जना मात्र हो । राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि । सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो । मैले त्यो अवसरको लोभ नगरी प्रत्यक्ष उम्मेदवार बनेको थिएँ । यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ । खैर, बाँकी कुराहरू गर्दै जाउँला । निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरूबाट टाढा हुने नसोच्नु होला । मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु । यो निर्वाचनबाट निर्वाचित सुनिल शर्माजीका राम्रा काममा काँधमा काँध मिलाउनेछु तर बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्नेछु ।
आदरणीय मोरङ ३ का बासिन्दाहरू यसपटक निर्वाचन जितेर तपाईंहरूका आवाज संसदमा राख्ने अवसर नपाएपनि तपाईँले अब आफ्ना आवाज थप बलियो बनाउने मान्छेका रुपमा मलाई पाउनुहुनेछ । हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।