उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशमा संसारको सबभन्दा शक्तिशाली आणविक हतियार बनाउन चाहेको बताएका छन् ।
हालै उत्तरले प्रक्षेपण गरेको नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रमा संलग्न दर्जनौं सैन्य अधिकृतहरूलाई बढुवा गरेको अवसरमा किमले यस्तो बयान दिएको उत्तरको सरकारी सञ्चारमाध्यमले आइतवार खबर दिएको छ ।
नौ दिनअघि किमले ह्वासोङ–१७ नामक देशकै सबभन्दा ठूलो अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए । अमेरिकाले तेर्स्याएको आणविक जोखिमलाई प्रतिकार गर्ने प्रतिज्ञा पनि उनले गरेका थिए ।
ह्वासोङ–१७ लाई उनले संसारको सबभन्दा बलियो रणनीतिक हतियारका रूपमा वर्णन गरे । संसारको सबभन्दा मजबूत सेना बनाउने उत्तरको संकलप्लाई यसले प्रमाणित गर्ने उनको भनाइ छ ।
उत्तर कोरियाली वैज्ञानिकहरूले ब्यालिस्टिक क्षेप्यास्त्रमा आणविक वारहेड राख्ने प्रविधिको विकासमा फड्को मारेको उनले बताए । देशको आणविक हतियार क्षमतालाई असाधारण रूपमा द्रुत गतिका साथ बलियो बनाउने अपेक्षा आफूले गरेको पनि उनको भनाइ छ ।