
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको मौद्रिक समीक्षा आइतवार साँझसम्ममा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले हरेक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने गरेको छ ।
राष्ट्र बैंकले गत साउनमा जारी गरेको मौद्रिक नीतिको समीक्षा गर्ने र नयाँ निर्देशन तथा केही व्यवस्था परिवर्तनसमेत यसबाट गर्न सक्छ ।
मौद्रिक नीति सार्वजनिक हुनु अगाडि राष्ट्र बैंक सञ्चालक समितिको बैठक ४ बजेलाई बोलाइएको छ । उक्त बैठकले निर्णय गरेपछि आजै साँझसम्ममा मौद्रिक नीतिको समीक्षा आउने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
उनले भने ‘मौद्रिक नीतिको यो वर्षको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गर्नकै लागि बैठक बोलाइएको हो । उक्त बैठकले राष्ट्र बैंक व्यवस्थापनले तयार पारेको मौद्रिक नीतिको समीक्षामा समावेश भएका विषयवस्तुमाथि छलफल र आवश्यक संशोधनसमेत गर्न सक्ने छ । त्यसपछि आजै सार्वजनिक हुने छ ।’
पछिल्लो समय बढेको बैैंक व्याजदर सबैभन्दा बढी चासोको रूपमा हेरिएको छ । ‘मौद्रिक नीतिले बैकहरूले लिने प्रिमियम र बेसरेट कम गर्नुपर्छ । यसो हुँदा बैैंक ब्याजदर कम हुन आउने र निजी क्षेत्रले उठाएको मागलाई सम्बोधन हुनसक्छ’, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भने ।
निजी क्षेत्रले बैंकको ब्याजदर घटाउनै पर्ने विषयमा आफ्नो अडान राख्दै आएको छ । बैंकहरूले कात्तिकदेखि ब्याजदर बढाएर कर्जामा १८ प्रतिशतसम्म पु¥याएका छन् । उक्त ब्याजदर बढी हुँदा व्यापार व्यवसाय गर्न असहज भएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आन्दोलनसमेत गर्दै आएका छन् । निजी क्षेत्रले ब्याजदर घटाउन माग गरिरहेको भए पनि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षालाई नै पर्खाइरहेको छ ।
कात्तिकदेखि कार्यान्वयनमा आएको चालु पुँजीसम्बन्धी नीति संशोधन गर्नुपर्ने निजी क्षेत्रको माग रहेको छ । त्यसमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने विषयलाई निजी क्षेत्रले प्राथमिकताका साथ उठाएको छ ।
राष्ट्र बैंकले निजी क्षेत्रले उठाएको मागलाई आज आउने भनिएको मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्ने र ब्याजदर घटेर अर्थतन्त्र चलायमानमा सहजीकरण हुने बुझाई मल्लको छ ।
देश चुनावमय हुँदा कात्तिकदेखि अर्थतन्त्रम चलायमान भए पनि निजी क्षेत्रको बुझाई छ । नेपाल बैंकर्स संघले जारी गरेको कात्तिक महिनासम्मको निक्षेपको तथ्यांकले पछिल्लो एक महिनामा १७ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।
यस्तो निक्षेप मंसिर पहिलो साता ५ अर्ब रुपैयाँले घट्न थालिसकेको भए पनि चुनाव अगाडिको महिनामा भने अर्थतन्त्रलाई राहत नै दिएको बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल भने गत महिना भएको अर्थतन्त्रको अवस्थाको लागि आगामी महिना आउने तथ्यांकलाई नै पर्खनुपर्ने बताउँछन् ।
राष्ट्र बैंकका अनुसार भने समग्र बैैंक तथा वित्तीय संस्थामा कात्तिक १ गतेसम्ममा जम्मा ५१ खर्ब ६९ अर्ब ४८ करोड निक्षेप संकलन भएको छ । यस्तो निक्षेपबाट ४७ खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
यस्तो तथ्यांक कात्तिक मसान्तसम्म आइपुग्दा भने निक्षेप ५१ खर्ब ७० अर्ब ७९ करोड र कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकिङ क्षेत्रमा अधिक तरलता १३ अर्ब रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।