
ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन् ।
व्यावसायिक रूपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई किवी नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थिए । जब किवी बोटमा पाक्न थाल्छ, तब उनलाई बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ ।
यस वर्ष उत्पादन भएकोमध्ये करीब ४ क्विन्टल किवी बिक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।
‘जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौंला भन्ने छ,’ उनले भने । उनले काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाए । होलसेल प्रतिकिलो १०० र फाट्टफुट्ट १५० रुपैयाँका दरले बिक्री गरेको उनले बताए ।
उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनले बताए । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राखेका गुरुङले बजार पाएनन् । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए ।
यसरी बजार नपाउँदा उनीहरू मात्रै नभई जिल्लाका दर्जनौं किसान निराश छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती शुरू गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् ।
‘एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ,’ राजकुमार गुरुङले भने ।
समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । ‘पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो,’ सिरीजंघा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने ।
उनले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर १०० रुपैयाँ प्रतिकिलोका दरले बेचे । गाउँघरमा ७० देखि ८० रुपैयाँका दरले बिक्री गरेको उनको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निराश हुनुपरेको तिवारीले बताए ।