२९ जेठ २०८३, शुक्रबार

खर्च विवरण बुझाउन थाले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरू

मंसिर १२, २०७९
खर्च विवरण बुझाउन थाले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरू

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिर्नुपर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो ।

नुवाकोटमा रहेका २ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम शनिवार सार्वजनिक भएको थियो । आइतवार नै ७ जना उम्मेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन ७ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । करीब १ दर्जनले फाराम लिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारसहित समानुपातिक उम्मेदवार समेत आफैं निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजात सहितको खर्च विवरण बुझाएका छन् । मत परिणामअनुसार निर्वाचित भएका २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्र (१) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित रामप्रसाद ढुंगाना आइतवार विदुर नगरपालिकाका विभिन्न वडामा मतदातालाई धन्यवाद दिन जानुपर्ने थियो । 

नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अजुर्ननरसिंह केसी र प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित बहादुरसिंह लामा (तामाङ) सँगसँगै विजयी र्‍यालीमा सहभागी हुनुपर्ने समयमा नवनिर्वाचित सदस्य ढुंगाना भने खर्च विवरण बुझाउन चुनावी खर्चको बिल भरपाइसहित आफैं निर्वाचन कार्यालयमा पुगेका हुन् ।

‘स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाएर जरिवाना तिर्न परेको सुनेको छु,’ उनले भने, ‘निर्वाचित भएपछि मतदाताबाट लिनुपर्ने बधाई र दिनुपर्ने धन्यवादपछि साटासाट गर्न पाइन्छ तर कानूनी प्रक्रियाअनुसार तोकिएको खर्च विवरण समयमा बुझाउन लागेको छु ।’

निर्वाचनमा पराजित भएका उम्मेदवार चुनावी समीक्षा गर्न र विजेता मतदातालाई धन्यवाद दिन घरघरमा जानुपर्ने व्यस्त समय भए पनि स्थानीय तहको निर्वाचनका उम्मेदवारले समयभित्र खर्च वितरण नबुझाएको कारण खर्च गर्न पाउने बराबरको जरिवानाको निर्णय निर्वाचन आयोगले तोकेको थियो । त्यसको सकारात्मक प्रभावको कारण अहिलेको आमनिर्वाचनका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।

आम निर्वाचनअन्तर्गत जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नम्बर १ मा ३१ लाख र क्षेत्र नम्बर २ मा २९ लाख रुपैयाँसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ । प्रदेशसभातर्फ जिल्लाको ४ वटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाइने कानूनी व्यवस्था तोकिएको थियो ।

प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारले २ लाखसम्म र प्रदेश समानुपातिक उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा छ ।

सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले १ महिनाभित्र उम्मेदवारले अनिवार्य रूपमा खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ । तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिवाना तिर्नुपर्ने भएकाले जिल्लाका उम्मेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्