२६ जेठ २०८३, मंगलबार

मंसिर २२ देखि अरुण डाँडा महोत्सव

मंसिर १२, २०७९
मंसिर २२ देखि अरुण डाँडा महोत्सव
फाइल तस्वीर

पर्यटन प्रबद्र्धनका लागि मंसिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रबद्र्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित पर्यटकीयस्थल पौवादुङमा–१ को अरुण डाँडामा छ दिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । 

महोत्सवमा आगन्तुकलाई लक्षित गरी स्थानीय जातजातिका खानाका परिकार, कृषि सामग्री तथा उत्पादन प्रदर्शनी गरिनेछ भने स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने अरुण प्रबद्र्धन समितिका अध्यक्ष सञ्जीव सुब्बाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए । 

उनले भने, ‘गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रचारका लागि महोत्सव आयोजना गरिएको हो । यसले यहाँका पर्यटकीय क्षेत्रसँगै भाषा, संस्कार र संस्कृतिको उत्थानमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’

महोत्सवमा पर्यटन प्रबद्र्धन गर्नेगरी विभिन्न सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कृति झल्काउने  प्रदर्शनी, स्थानीय  खाना तथा स्थानीयवासीको कृषि उत्पादन प्रदर्शन गरिने उनको भनाइ छ । 

महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीलाई बजारीकरण गर्न सहयोग पुग्ने तथा यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा प्रत्यक्ष लाभ पुग्ने समितिका सचिव सरोज चाम्लिङ राईले विश्वास व्यक्त गरे । 

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । गाउँपालिकाले महोत्सव आयोजना गर्नका लागि रु १० लाख उपलब्ध गराएको छ । 

‘यस क्षेत्रको पर्यटकीय विकासमा गाउँपालिका योजनाबद्धरुपमा अगाडि बढेको छ’, उपाध्यक्ष राईले भने, ‘महोत्सवले गाउँपालिकाको आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

salt training

कमेन्ट गर्नुहोस्