
जाडो बढेपछि जर्मन सांसदहरूलाई संसद् भवनमा न्यानोको व्यवस्था गर्न गाह्रो परेको त्यहाँको पत्रिका देर स्पीगलले खबर दिएको छ ।
जर्मन संसद् बुन्डेस्टाखले ऊर्जा संकटका कारण खपत घटाउन थालेपछि केही सांसदहरूले जाडोका कारण आफूहरूलाई रुघाखोकीको समस्या हुन सक्ने गुनासो गरेका छन् ।
केही मन्त्री र सांसदहरूले ज्याकेटभित्र घाँटीसम्म आउने पुलओभर लगाएका छन् । अनि उनीहरूले कार्यालय आउँदा पनि शल वा स्कार्भ भिर्ने गरेका छन् ।
ग्रीन पार्टीका सांसद तथा पूर्व कृषिमन्त्री रेनाते कुएनास्टले भनिन्, ‘म डाउन ज्याकेट लगाएर अफिसमा बस्दा चिसो लाग्यो । यताउता दौडिएर न्यानो बनाउन खोजें । तैपनि मलाई रुघाले समातिहाल्यो ।’
संसद् भवनमा तापक्रम निकै घटेको बताइएको छ । कुएनास्टले आफ्ना केही सहकर्मीलाई जाडोका कारण रोग लागेको पनि बताइन् ।
रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीले रुससँग ऊर्जा आपूर्ति लिन छोडेपछि त्यहाँ ऊर्जाको चरम अभावको स्थिति छ ।
पश्चिमा मुलुकहरूले रुसविरुद्ध प्रतिबन्ध लगाएकाले युरोपेलीहरू ग्यासको उच्च मूल्य तिर्न बाध्य छन् ।