२७ जेठ २०८३, बुधबार

प्रदेश-१ मा प्रत्यक्ष चुनाव जित्ने महिला २ मात्रै

मंसिर १२, २०७९
प्रदेश-१ मा प्रत्यक्ष चुनाव जित्ने महिला २ मात्रै

मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेश-१ मा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला २ जना मात्रै छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेकाे प्रदेश सभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईमात्रै प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् । 

खिनु इलाम क्षेत्र नम्बर-१ बाट विजयी भएकी हुन् । प्रदेश-१ सरकारकी संस्कृति पर्यटनमन्त्रीसमेत रहेकी खिनुले एमालेकी शोभा पराजुलीलाई पराजित गरेकी हुन् । १३ हजार ३ सय ७५ मत ल्याएर खिनु विजेता बन्दा एमालेकी पराजुलीले ११ हजार ३९५ मत मात्रै ल्याउन सकिन् ।

खिनुले नेकपा एसका सम्मानित नेता झलनाथ खनालको समेत इज्जत जोगाइदिएकी छन् । प्रतिनिधि सभामा खनाल यस क्षेत्रबाट पराजित भएर एमालेका महेश बस्नेत विजयी भएका छन् । २५ हजार ७ सय ५३ मत मत ल्याएर बस्नेत निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत मात्रै ल्याएका छन् । 

झापा क्षेत्र नम्बर-१(२) बाट राप्रपाकी बजगाई निर्वाचित भएकी हुन् । बजगाईले १३ हजार ६१२ मत ल्याएर विजेता बन्दा निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बूले १२ हजार २२५ मत मात्रै प्राप्त गरेका थिए । 

प्रतिनिधिसभातर्फ भने उक्त क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भए । 

यसअघि २०७४ मा पनि प्रदेश-१ सभामा दुई महिला मात्रै प्रत्यक्षतर्फ विजयी भएका थिए । २०७४ मा इलामबाटै तत्कालीन एमालेको तर्फबाट खिनुनै विजयी भएकी थिइन् । अर्की एकजना उदयपुर-२(२)बाट कला घले निर्वाचित भएकी थिइन् । उनले यसपटक भने टिकट पाइनन् । 

प्रत्यक्षतर्फ विजेता महिला उम्मेदवारको संख्या कम हुँदा अब समानुपातिक कोटाबाट धेरै महिला उम्मेदवारहरू प्रदेशसभा सदस्य बन्ने बाटो खुलेको छ । महिला सहभागिताको सवालमा बहस जारी रहेका बेला प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या कम हुनु र उम्मेदवार बनेकाहरू पनि विजयी नहुनुलाई सामान्यरुपमा लिन नहुने महिला अधिकारकर्मीहरूको विश्लेषण छ । 

salt training

कमेन्ट गर्नुहोस्