महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा नलिई आफूहरू नफर्किने चेतावनी दिएका छन् ।
सो बस्तीमा अनधिकृत रूपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताएका हुन् ।
अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानूनबमोजिम कारबाही हुने स्पष्ट पारे ।
सोमवार अपरान्हदेखि सो बस्तीमास्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुढासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।
यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका छन् ।
अहिले सो भीडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृतरुपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर, सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ ।