
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा सुदूरपश्चिमले १ नम्बर प्रदेशलाई २१३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
प्रतियोगितामा लगातार चौथो जीतसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जीतका लागि २६५ रनको विजयी लक्ष्य पछ्याएको १ नम्बर प्रदेश १६.३ ओभरमा ५१ रनमा समेटियो ।
१ नम्बर प्रदेशका भूपाल दङ्गालले ३२ बलमा १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरका हेमन्त धामीले ५ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए । मिलन बोहराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले सर्वाधिक ८३ रनको योगदान दिए ।
मिलन बोहराले ६४ रन जोडे । दीपक बोहराले ३२, आकाश चन्दले २० तथा विशाल ऐरले १३ रन जोडे । १ नम्बर प्रदेशका अभिनय राजवंशीले ४ विकेट लिए भने आषिश मगर र दीपेश कँडेलले समान २ विकेट लिए ।