
बाजुराको त्रिवेणी नगरपालिका–७ मा आम निर्वाचनको दिन २ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल, सशस्त्र प्रहरीका डीआईजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधीवक्ता सन्तोष राम कटुवाल रहेको समिति गठन गरिएको हो । मंसिर ८ गते नै गठन भएको ५ सदस्यीय अनुसन्धान अधिकारीको टोली मंसिर १० गतेदेखि नै बाजुरामा खटिएको छ ।
समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको प्रहरी प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । निर्वाचनको दिन प्रहरीको गोली लागेर स्थानीय २६ वर्षीय सन्दिप ऐडीले ज्यान गुमाएका थिए । गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडीका छोरा हुन् ।
यस्तै मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गर्दा एमालेका कार्यकर्ता चेतन ऐडीको पनि मृत्यु भएको थियो ।
अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा सोही राति उपचारका क्रममा मृत्यु भएको थियो । चेत ऐडीको ‘हत्या’ आरोपमा आफन्तले २२ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिएका थिए । हालसम्म प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार मृतक दुवै जनाको शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् ।