
जर्मन फूटबलका पूर्व स्ट्राइकर तथा खेल विश्लेषक सान्द्रो वाग्नरले कतारको राष्ट्रिय पोशाकका बारेमा गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् ।
कतारमा जारी विश्वकपमा जर्मनी र स्पेनबीच भएको खेलका क्रममा उनले जर्मन टीभी जेडडीएफमा टिप्पणी गरेका थिए ।
खेलको ७९औं मिनेटमा उनले कतारी राष्ट्रिय पोशाक थ्वाब नुहाउँदा लगाउने लुगा जस्तो लागेको बताए ।
‘स्टेडियमको एक कुनामा जर्मन समर्थकहरू छन् जस्तो लागेको थियो,’ उनले भने, ‘पछि पो थाहा पाएँ त्यो त नुहाउँदा लगाउने कतारी लुगा थियो ।’
पछि उनले ट्वीट गरी माफी मागे ।
‘मैले विचारै नगरिकन अनुपयुक्त टिप्पणी गरेछु, त्यो कुरा मैले नबोलेको भए पनि हुन्थ्यो । कसैलाई चोट पुगेको छ भने माफी चाहन्छु, चोट पुर्याउने मेरो उद्देश्य थिएन ।’
वाग्नरले सन् २०२० मा संन्यास लिनुअघि जर्मनीका लागि आठ खेल खेलेका थिए ।