
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष १ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड रुपैयाँ भित्रिएको उनले बताए ।
‘यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ,’ उनले भने । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
‘यस वर्ष प्रतिहेक्टर ५ मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ,’ हमालले भने । स्याङ्जामा २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैंचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ ।
यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो हप्ताबाट बिक्री शुरू भएको छ । कात्तिकको दोस्रो हप्तामा प्रतिकिलो ५० रुपैयाँ तथा अहिले ६५ रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट ५० लाख रुपैयाँसम्म आम्दानीको दाबी गर्छन् । गत वर्ष उनले २५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
‘अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ,’ उनले भने । उनको बगैंचामा अहिले २ हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मशिन जडान गरी बजारीकरण गर्दै आएका छन् ।
गत वर्ष सुन्तला बिक्रीबाट २ लाख आम्दानी गरेका वालिङ–२ फुटेढुंगाका लेखनाथ काफ्लेले ४ लाख आम्दानी हुने बताए । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उनले भने, ‘गत वर्ष २ लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष ४ लाखमा ठेक्का दिइसकेको छु ।’
ठेकेदारले सुन्तला बगैंचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उनले बताए । काफ्लेको सुन्तला बगैंचामा अहिले १०० बोटमा फल लागेको छ । गत वर्ष २२ लाखको सुन्तला बिक्री गरेका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताए ।
गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर २२ लाख आम्दानी गरेका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उनको बगैंचामा अहिले ८०० सुन्तलाका बोट छन् । – तोलाकान्त बगाले/रासस