
मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटमा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।
उनी गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका स्थायी बासिन्दा हुन् । उनले नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका छन् ।
पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले १५ करोड रुपैयाँको लगानीमा शुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसायको शुरुआत गरेका थिए । अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन शुरु गरेका हुन् ।
विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती संगीता पनि इन्जिनियर नै हुन् । ‘शुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय शुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’, लामिछाने भन्छन् ।
उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए ।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १० लाख बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई उनीहरुले पराल र दाना खुवाउँदै आएका छन् । गाई र भैँसीको मलसमेत उनी बिक्री गर्छन् ।
लामिछानेले काठमाडौंमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरिरहेका छन् । रासस