फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल नासर क्लबसँग सम्झौता गर्न लागेको खबर आएपछि उनका आलोचकहरूले काखी बजाएका छन् ।
म्यानचेस्टर युनाइटेडसँगको सम्झौता अवधि पूरा नहुँदै तोडेका रोनाल्डो अहिले क्लबविहीन छन् ।
उनले अल नासर क्लबसँग वर्षको १७ करोड २९ लाख डलर पाउने गरी सम्झौता गरेको बताइएको छ ।
यो खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टिप्पणीहरूको बाढी आएको छ ।
एकजनाले लेखे, ‘शीर्ष क्लबहरूले मलाई चाहन्छन्, म पनि उच्चतम स्तरमा रहँदैछु । साउदी अरबमा २० करोडको सम्झौता गर्दैछु । अनि के त ? मेसी पनि अमेरिका जाँदैछन् त ।’
अर्काले लेखे, ‘च्याम्पियन्स लीगमा खेल्ने रोनाल्डोको सपना उडायो हुरीले ।’
अनि अर्काले व्यंग्य कसे, ‘पैसा त छँदैछ, साउदीमा गएर सजिलै गोल बर्साउँला अनि मेसीलाई पछि पारुँला भनी रोनाल्डो त्यता जान लागेका हुन् ।’
झन् अर्काले लेखे, ‘रोनाल्डोलाई अझै कति पैसा चाहिएको हो ? मूर्ख निर्णय लिएर उनले आफ्नै विरासत ध्वस्त पारे ।’