
नेपाली कांग्रेस प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि कांग्रेस रूपन्देहीमा आन्तरिक किचलोले उग्ररूप लिएको छ ।
रुपन्देही–३ बाट प्रतिनिधि सभातर्फ गृहमन्त्री खाँण र ५ नम्बर क्षेत्रमा अर्का नेता भरतकुमार शाह पराजित भएपछि संस्थापन पक्षले अन्तरघातका कारण चुनाव हारेको आरोप लगाएको छ ।
खाँण र शाह दुवै संस्थापन पक्षका नेता हुन् । संस्थापन पक्ष निकटका नेताले अन्तर्घातको आरोप लगाएपछि संस्थापन इतरका ११ जना जिल्ला नेताहरूले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै रूपन्देहीमा कांग्रेसको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गृहमन्त्री खाँणका सहोदर भाइ तथा तिलोत्तमा नगरपालिकाका प्रमुख हुन् ।
संस्थापन इतरका नेताहरू लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, लुम्बिनी प्रदेश समितिका पूर्व सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघका पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, पूर्व क्षेत्रीय सचिव जोगबहादुर खत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंले विज्ञप्ति जारी गर्दै नेताहरूको हारको मुख्य जिम्मेवारी जिल्ला नेतृत्वले लिनुपर्ने बताएका छन् ।
सत्ता गठबन्धन गरेर निर्वाचनमा होमिए पनि प्रतिनिधि सभातर्फ रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस ‘क्लिन स्वीप’ भएको छ । उम्मेदवारलाई जिताउन लाग्नेलाई पुरस्कृत र हराउन लाग्नेको नाम संकलन गरी अनुशासन समितिमा पठाउने सभापति खाँणले लोकान्तरलाई जानकारी दिए ।