
स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना सुरु गरिने भएको छ। निर्वाचन आयोगको निर्देशनपछि बसेको सर्वदलीय बैठकले ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणनाको विषयलाई लिएर वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।
मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ नम्बरका ४ वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।
कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत १० दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।
यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा ३ सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । २ नम्बर क्षेत्रमा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पदमाकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन् ।