
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘डी’बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
कतारको एजुकेसन सिटी रंगशालामा भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औं मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको १ गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो । यस जीतका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।
त्यसैगरी कतारको अल जुनब रंगशालामा बिहीवारै भएको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको छ । अस्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औं मिनेटमा गरेको १ गोल अस्ट्रेलियाको लागि निर्णायक गोल साबित भयो ।
समूह ‘डी’बाट फ्रान्स र अस्ट्रेलिया नकाउट चरणमा पुगे । दुवै टोलीले ३ खेलमा २ जीत र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोलअन्तरमा अघि रहेर समूह विजेता बन्यो भने अस्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।
ट्युनिसियाले ३ खेलमा ४ अंक जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रह्यो । डेनमार्क १ अंकसहित पुछारमा रह्यो । विश्वकपमा समूह ‘डी’बाट ट्युनिसिया र डेनमार्क प्रतियोगिताबाट बाहिरिए ।