काठमाडौँ, २९ साउन- पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भीषण वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए । ‘मनसुन चाहेभन्दा बढी सक्रिय भएको अवस्था हो यो,’ रिमालले शनिबार भने, ‘सोमबार बेलुकीसम्म मुलुकका धेरै भागमा भीषण वर्षा हुने देखिन्छ ।’
सामान्यतया दक्षिण (भारतीय क्षेत्र) मा सक्रिय रहने न्यून चापीय रेखा सर्दै शुक्रबार बिहान नेपालको चुरे र पहाडी क्षेत्रसम्मै पुगेपछि भीषण वर्षा सुरु भएको हो, कान्तिपुरमा खबर छ ।