काठमाडौँ, २९ साउन - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख आन्तरिक विमानस्थल पशुपक्षीको जोखिममा रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलको अध्ययनपश्चात् हालै सार्वजनिक गरेको ‘वाइल्डलाइफ हजार्ड रिपोर्ट २०१७’ले यस्तो तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पशुपक्षीबाट सबैभन्दा जोखिममा रहेको छ । त्यस्तै आन्तरिक विमानस्थलमध्ये नेपालगञ्ज, भैरहवा, विराटनगर र पोखरा तुलनात्मक रूपमा बढी जोखिमयुक्त रहेको प्रतिवेदनमा उल्लेख रहेको खबर गोरखापत्रले छापेको छ ।

प्रतिवेदनमा समेटिएको पाँच वर्ष (सन् २०११–२०१५)सम्मको तथ्याङ्कअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चरा, कुकुर र बाँदरले जोखिम निम्त्याउन सक्ने पाइएको छ । उक्त तथ्याङ्कअनुसार बिहानभन्दा दिउँसोको समयमा यो विमानस्थलमा चराको चहलपहल बढ्ने र त्यसले पनि समस्या ल्याउनसक्ने देखाइएको छ । अध्ययन अवधिसम्मका कुनै महिना दिउँसोको समयमा सात सयवटासम्म चरा विमानस्थलमा देखापरेको उल्लेख छ । त्यस्तै विमानस्थल परिसरमा पछिल्लो समयमा कुकुर र बाँदरको सङ्ख्या कम हुँदै गए पनि जोखिम भने कायमै रहेको प्रतिवेदनले जनाएको छ । विमानस्थल नजिकै आवासीय क्षेत्र, बगैँचा, रेस्टुराँ र मासु पसलबाट निस्कने वस्तुले पनि चराको उपस्थिति रहेको पाइएको छ । त्यस्तै बागमती र मनोहरा नदीको भिजेको बालुवाका कारण पनि चरा विमानस्थल आसपासमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।