
बागमती सफाइ महाअभियान ४९९ हप्ता पूरा भएको छ ।
विक्रम संवत् २०७० जेठ ५ गतेदेखि शुरू भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिवार बागमती सफाइ हुने गरेको छ ।
‘राष्ट्रको लागि हप्ताको २ घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म अभियान चल्ने गर्छ । महाअभियानले शनिवार तिलगङ्गामा ४९९औं हप्ताको सफाइ गरेको छ ।
सफाइबाट १.५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिए ।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौं महानगरपालिका–११ वडाध्यक्ष हीरालाल तण्डुकार, बागमती सफाइ महाअभियानका अभियानकर्मीहरू क्रमशः डा. लक्ष्मी पौडेल, चक्रबहादुर चन्द, झलक ढुंगेल, नरेश श्रेष्ठ, दुर्गा रावल, मदन पोखरेल, आशा पाण्डे, रामशरण कार्की लगायतको सक्रियता थियो ।
सफाइबाट जम्मा भएको फोहोर काठमाडौं महानगरपालिका कृषि तथा वातावरण विभाग टेकुले व्यवस्थापन गरेको जनाइएको छ । विक्रम संवत् २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान शुरू भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान २ घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीय र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।
जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान शुरू भएको छ ।
हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
काठमाडौं उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे अभियानकर्मीले जनाएका छन् । बागमती सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।