
विश्वकप फुटबलको अन्तिम १६ मा सोमबार जापान र क्रोएशिया भिड्दैछन् । कतारस्थित अल जनोब रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्ने मौका पाएकाले आफू र आफ्नो समूहको सबै ध्यान यसैमा केन्द्रित रहेको जापानका फरवार्ड आओ तनाकाले बताएका छन् । स्पेनविरुद्ध जितले अन्तिम १६ मा प्रबेश गराएको र यसबाट मिलेको उर्जालाई क्रोयसियाविरूद्ध प्रयोग गर्ने उनले बताए ।
आफूले विगतको जीतभन्दा आगामी चुनौतीको बारेमा सोचेको तनाकाले बताए । जापानले स्पेनविरुद्धको विजयी गोल लामो भिएआर जाँचपछि पाएको थियो । त्यो जीतले जापानी टोलीलाई समूहको विजेताको रूपमा समाप्त गर्न अनुमति दियो । आज टीमलाई जित दिलाएमा इतिहासमै पहिलो पटक जापान क्वाटरफाइनलमा पुग्नेछ ।
“हामी सबैले सबै कुरा बिर्सिसकेका छौं,” तानाकाले भने, “पक्कै पनि, हामी जर्मनीविरुद्धको खेल र समूह चरणको अन्तिम खेल पनि जित्न पाउँदा धेरै खुसी थियौं । तर अब हामी यसमा मात्र भुल्न चाहन्नौँ ।
“जापान कहिल्यै पनि विश्वकपको क्वाटरफाइनलसम्म पुग्न सकेको छैन, त्यसैले अर्को खेल हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ । हामीले तयारी गर्नुपर्छ र अर्को खेलमा ध्यान दिनुपर्छ,” उनले भने ।