२८ जेठ २०८३, बिहीबार

मह गाउँको परिचय दिँदै दगाम

मंसिर १९, २०७९
मह गाउँको परिचय दिँदै दगाम

परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नम्बर २ का स्थानीयवासी बताउँछन् । 

प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउँछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ ।

यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रूपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउन थालेका छन् । 

दगामका केही स्थानीयले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी लिन थालेपछि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । दगामका २३ घरका सबैले मौरी पालेका छन् । मह उत्पादन बढ्दै गएकाले मौरीपालन व्यवसाय शुरू गरेको अगुवा कृषक नन्दराज थापाले बताए । २०५७ सालमा घरेलु तथा साना उद्योग तनहँुले मौरीपालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरीपालन प्रति गाउँलेको रुचि बढेको उनको भनाइ छ ।

‘शुरूमा घरेलु तथा साना उद्योग तनहँुबाट तालिम लिएपछि गाउँ हामीले गाउँमा मौरीपालन शुरू गरेका हौं,’ उनले भने, ‘शुरूमा केही गाह्रो भयो तर पछि कामले काम सिकाउँदै गयो, अहिले सबै घरमा मौरीको घार छ ।’

उनले मौरीपालनबाट वार्षिक ६ लाखसम्म आम्दानी गरेको बताए । ‘शुरूमा १ घारबाट मौरी पाल्न थालेको हुँ,’ उनले थपे, ‘बिस्तारै घार बढाउँदै अहिले ४२ घारबाट राम्रै आम्दानी लिएको छु ।’ उनले मह मात्र नभएर मौरी र घार पनि बिक्री गर्छन् । दगामकै अर्का मौरीपालक कृषक टीकाराम गुरुङको घरमा पनि २२ घारमा मौरी छन् । उनले मासिक ४० देखि ५० हजार रुपैयाँको मह बेच्छन् । यसले उनले परिवार राम्रैसँग पालिएको छ ।

पहिले काठेघारमा मौरी पालेका उनले अहिले आधुनिक घारबाट मह काढ्छन् । ‘महका लागि सधैं एकैनासको मौसम हँुदैन कहिले धेरै नै हुन्छ कहिले थोरै मह निकालिन्छ,’ उनले भने, ‘फूल फुल्ने मौसममा ६० हजारसम्मको मह आउँछ अफसिजनमा पनि ३० हजारसम्मको मह उत्पादन हुन्छ । सरदरमा मासिक ५० हजारको मह काढिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्