
सानो लगानीमा घरमै बसीबसी लाखौं रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइँनभ्याइँ छ ।
कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।
रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौं रकम कमाउन सकिने भएपछि उनले यो व्यवसायलाई २२ वर्षदेखि धान्दै आएका छन् ।
करीब १ रोपनी जग्गामा बिरुवा उत्पादन गरेका दुवाडीले यसपटक २ लाख ५० हजार बराबरको आम्दानी हुने बताए ।
‘प्याज, काउली, बन्दाको माग धेरै छ, मागअनुसार पुर्याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन,’ उनले भने, ‘मंसिर शुरू भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेल्ने बेच्ने काममा दैनिकी बितेको छ ।’
सानो लगानीमा ३ देखि ४ महिनामा लाखौं कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यवसायमा निरन्तर लागिरहेको दुवाडी बताउँछन् । यसपटक बीउ खरिद, मलजलसहित करीब ३० हजार रुपैयाँ नर्सरीमा लगानी परेको छ ।
‘लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवार साथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ,’ उनले भने । उमेरले उनी ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उनको जोश, जाँगर जवानीकै जस्तो देखिन्छ । बिरुवा हेरचाह रेखदेख र बिक्री गर्दै उनको दिन बित्ने गरेको छ ।
विना तालिम उनले सो व्यवसाय अगाडि बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रूपमा चिनिएका छन् । अहिलेसम्म कुनै संघसंस्था, निकायबाट उनले सहयोग पाएका छैनन् । समयानुसार विभिन्न जातका बिरुवा उत्पादन गर्छन् ।
व्यावसायिकरूपमा बिरुवा उत्पादन गर्न थालेपछि दिनहुँ हातमा दाम र समाजमा राम्रंो पहिचान बनेको उनकी पत्नी मतिकला दुवाडी बताउँछिन् । काठमाडौं, पोखरा, गोरखा, चितवन, बुटवलमा पनि बिरुवा पठाएका छन् । दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ ।
पाल्पाको निस्दी गाउँपालिका–१ डमराका यामबहादुर खाणले बर्सेनि यहीँबाट प्याज, काउली, बन्दा, गोलभेंडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताए ।