
काठमाडौं, २९ साउन — बेग्लै गोर्खाल्यान्ड राज्यका लागि चलिरहेको आन्दोलनका क्रममा गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले आइतवार भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्ने भएका छन् ।

गोर्खाल्यान्ड विरोधलाई जनआन्दोलनको संज्ञा दिँदै गोजमो अध्यक्ष विमल गुरुङले भने, ‘म माननीय गृहमन्त्रीलाई निमन्त्रणाका लागि धन्यवाद दिन्छु र गोर्खाहरूलाई न्याय दिनका लागि केन्द्र सरकारले काम गर्नेछ भन्ने आशा गर्दछु ।’
गुरुङले सबै पहाडी दलहरूले बैठकमा भाग लिएर गोर्खाल्यान्डलाई राज्यको दर्जा दिलाउनका लागि रोडम्याप बनाउने आशा गरेको बताए ।
गोजमोलाई गृह मन्त्रालयले नयाँ दिल्लीमा वार्ताका लागि साढे चार बजेको समय दिएको छ ।
गत जुन महिनादेखि दार्जीलिङका पहाडमा नेपाली बोल्ने गोर्खाहरूका लागि गोर्खाल्यान्ड राज्यको मागसहित हिंसा भड्किएको छ ।
एजेन्सी