नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमबहादुर रावलले छिमेकी मुलुक भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु लज्जाजनक भएको बताएका छन् । नेता रावलले हिजो राति सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कुरा बताएका हुन् ।
दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार चुइक्क नबोल्नु लज्जाजनक हो उनले भने, “दुई देशबीचको यति गम्भीर विषय प्रमुख जिल्ला अधिकारीले हेरेर हुने होइन, प्रम र मन्त्रालय देशप्रति जिम्मेवाउ होऊ ।”
सुदूरपश्चिमको दार्चुलाको खलंगास्थित भारतले महाकाली नदीको बीचमा तटबन्ध बनाएर धार परिवर्तन गर्दा केही दिनदेखि नेपाल र भारतका नागरिकबीच ढुंगा हानाहान हुँदैआएको छ । नेपाली नागरिकले नदीको धार परिवर्तन गर्दा नेपालको भूमि मासिने भन्दै त्यसलाई रोक्न भारत सरकारसँग माग गर्दैआएका छन् ।
दुई देशका नागरिकबीच तनाव भएपछि स्थानीय भारत र नेपाल प्रशासनबीच छलफल भएर संवाद मार्फत समस्या समाधान गर्ने छलफल भएको छ । दुई देशका नागरिकबीचको ढुंगा हानाहानले केही नागरिक घाइतेभएको प्रशासनले जनाएको छ ।