
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयले हाइड्रोपावर निर्माण गरिरहेका छन् ।
लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ ।
सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्डविपरीत काम गरेको पाइएको छ ।
मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारी भन्छन्, ‘सम्झौताअनुसार काम गर्न ४ पटकसम्म पत्राचार गर्यौं तर उहाँहरूले हाम्रो पत्रको कुनै जवाफ दिनुभएको छैन, हामीहरूले सम्झौता विपरीतको काम रोकेर मापदण्डअनुसार काम गर्न पटक–पटक भन्यौं, जिल्ला प्रशासनलाई पनि यो रोक्न पत्र पठाएका छौं, कतिपय ठाउँमा मापदण्डअनुसार भएको छ भने धेरै ठाउँमा विपरीत छ ।’
हाइड्रोपावर प्रालिले लोकमार्गको पत्रचारलाई बेवास्ता गरी मापदण्डविपरीत काम धमाधम गरिरहेको छ । भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सा समेत तयार पारेको भन्दै त्यसअनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरू बाध्य हुने बताए ।
‘म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजें, बुझ्न बोलाए तर उहाँहरू आउनुभएन, यदि निर्माण कम्पनीले सम्झौताविपरीत काम गरिरह्यो भने, त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ, उहाँहरूलाई सम्झौताअनुसार गर्ने स्थितिमै ल्याउँछौं, एउटा नक्सासमेत तयार भएको छ, त्यो नक्साअनुसार पनि भएन भने हामी भत्काउँछौं,’ उनले भने ।
७ मिटर चौडाइ रहेको २ लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा ५ मिटर पनि पुग्दैन । हाइड्रोपावरको पाइपले कुनापट्टिको नाली समेत पुरेको छ । हाइड्रोपावर प्रालिले पाइप बिछ्याएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउँछन् । मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिम समेत बढेको उनको भनाइ छ ।