०४ असार २०८३, बिहीबार

काभ्रेका प्रभावित क्षेत्रमा रेबिजविरुद्ध खोप

मंसिर २०, २०७९
काभ्रेका प्रभावित क्षेत्रमा रेबिजविरुद्ध खोप

काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ ।

कुकुरको टोकाइले रेबिज संक्रमणका कारण केही दिनअघि २ गाउँमा २ गाई मरेका थिए ।
 
महाभारत–१ को गोकुले र ८ नम्बर वडास्थित घर्तीछापका स्थानीयलाई रेबिज विरुद्धको खोप दिन थालिएको जनाइएको छ । सोमवार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार रेबिज प्रभावित क्षेत्रमा १६० डोज खोप उपलब्ध गराइएको छ ।
 
उनका अनुसार मरेका २ गाईका केही अंगहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिवार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो । ‘हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौं, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन स्थानीयलाई पे्ररित गरिरहेका छौं,’ सेढाईंले भने । स्थानीयका अनुसार मासु खाएका कारण २ गाउँका करीब ६० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ ।

सोमवारदेखि स्थानीय जनप्रतिनिधि, अगुवालगायत विद्यार्थीले चेतनामूलक र्‍यालीको आयोजना गरेका छन् । गाउँपालिकामा देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा पशुचौपायालाई सुरक्षित गर्नेबारे समन्वय भइरहेको जनाएका छन् । काभ्रेपलाञ्चोकमा ३ महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो । 

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण १ महिनाको अवधिमा ४ दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला २८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैंसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शंकास्पद व्यक्तिलाई खोप लगाउनुपरेको सेढाईंले बताए ।

salt training

कमेन्ट गर्नुहोस्