भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा आर्थिक समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको छ ।
महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ ।सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उपौडेलले बताए । यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा आएको जनाइएको छ ।
महानगरको क्षेत्राधिकारभित्र रहेका सहकारी सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाइएको छ । भरतपुर महानगरपालिका –३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाइएपछि छानबिन सुरु गरेको शाखा प्रमुख पौडेलले बताए ।
भरतपुर –३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताको बचत असुलीका लागि आवश्यक सहजीकरण भइरहेको बताए । उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाइएको छ । यस सहकारीमा तीन हजार पाँच सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको उनले जानकारी दिए । यस सहकारीले तीन स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोबार गर्दैआएको छ ।
यस्तै, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थामा दुई हजार दुई सय शेयर सदस्य छन् । आर्थिक तरलता देखिएपछि सहकारीले एक लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताए । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुनेगरेको शाखाले जनाएको छ ।
समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोबार हुनेगरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा रहेको छ । यसले दुई सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दैआएको पौडेलले बताए । सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका दुई सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रबर्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उनले बताए ।तरलता अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभा मार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल तीन सय ५४ सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये ४८ सहकारी संस्था निस्क्रिय रहेको उनले बताए । रासस